केशव स्थापितमाथि रश्मिलाको यौन प्रस्तावको आरोप झुटो रहेको महानगरपालिकाको दाबी |

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्वमेयर केशव स्थापितमाथि महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दाबी गरेको छ । पटक–पटक आफूलाई गाडी नै पठाएर निजी सम्बन्धको प्रस्ताव राखेको आरोप लगाएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ ।
स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनुपरेको केही दिनअघि फेसबुक र अन्य सञ्चारमाध्यममार्फत दाबी गरेकी प्रजापतिलाई आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएको महानगरपालिकाले बताएको छ । तर, प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटकपटक आफूलाई फोन गरेर ‘ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी छिन् ।
स्थापितको प्रस्ताव नमानी प्रतिवाद गर्दा २०६० सालमा जागिरबाट निकालिएको प्रजापतिको आरोप छ । तर, महानगरपालिकाले विज्ञप्तिमार्फत सो आरोपमा सत्यता नभएको र प्रजापतिलाई महानगरको जागिरबाट हटाइँदा स्थापित मेयर नरहेको समेत प्रष्ट्याएको छ । प्रजापति मि टु अभियानअन्तर्गत सञ्चारकर्मी हुन् ।
