भोलि खोकना र बुङ्मतीमा फास्ट ट्रयाकको अनुगमन गर्दै संसदीय समिति |

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भोलि बिहीवार काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ । सिंहदरबारमा बुधवार बसेको समितिको बैठकले ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताको मागको सुनुवाइ गर्न सोही क्षेत्रभित्र रहेको सो द्रुतमार्गको स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।
खोकना र बुङ्मतीका स्थानीय जनताको उजुरी समितिमा परेपछि त्यसलाई सम्बोधन गर्न लागिएको र उक्त मार्गको पहिलो खण्ड अनुगमन गर्न लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । खोकना र बुङ्मतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए । सोही उजुरीलाई सम्बोधन गर्न आफूहरु सो क्षेत्र भित्रको द्रुतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको समितिकी सदस्य पम्फा भुसालले बताइन् ।
तर, समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने सो द्रुतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाएका छन् । उनले सो द्रुतमार्गका पीडितलाई नै समितिमै बोलाएर सुनुवाइ गर्न सकिने धारणासमेत राखे । नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्गअन्तर्गत ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताले निर्माणको काममा अवरुद्ध गरिरहेका छन् । सो सम्बन्धमा स्थानीय जनताको गुनासो सुनुवाइ गरी सरकारसँग सचेत गराउने समितिको योजना छ ।