पोखरालाई पर्यटनको राजधानी घोषणा गरिनेछ : मन्त्री लम्साल |

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् । उनले नेपाल पर्यटन बोर्डको आयोजना एवम् आइडिया इन्नोभेशनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको उद्घाटन गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो ।’ उनका अनुसार प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरावरपरका हिमशृंला, तालतलैया, गुफालगायतका सम्पदाले पोखराको पर्यटकीय आकर्षण बढाएको छ । त्यसैले यिनीहरूको संरक्षण र उपयोगमा सरकार लाग्नेछ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारी, बोर्डको पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, आइडिया इन्नोभेसनका कार्यकारी प्रमुख कविराज जोशी, बोर्डको पोखरा कार्यालयका प्रशासन तथा कार्यक्रम अधिकृत प्रदीपराज गैरे लगायतको उपस्थिति रहेको थियो ।