माथिल्लो तामाकोशीले आगामी कात्तिकदेखि मात्र उत्पादन थाल्ने |

काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकदेखि मात्रै सञ्चालनमा आउने भएको छ । कम्पनीले आयोजनाको हाइड्रोमेकानिकलतर्फको काममा ढिलाइ भएकाले सञ्चालन हुन १ वर्ष पछि धकेलिएको जानकारी दिएको छ ।
आगामी पुसमा तामाकोशीको पहिलो युनिट सञ्चालनमा आइसक्नुपर्ने भए पनि वैशाखमै ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना थियो । तामाकोशी हाइड्रोपावर कम्पनीका कार्यकारी प्रमुख विज्ञान अधिकारीका अनुसार अब अगामी असारमा मात्र टनेलमा पानी खसाल्न शुरू गरिनेछ र आउँदो कात्तिकबाट आयोजनाले व्यावसायिक उत्पादन शुरू गर्नेछ । ०७२ साल असारमै सञ्चालनमा ल्याउने गरी निर्माण थालिएको यो आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण थप ३ वर्ष पछि धकिेलियो ।
दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण भइरहेको यो आयोजनाको क्षमता ४ सय ५६ मेगावाट रहेको छ । निर्माणमा भएको ढिलाइका कारण यसको लागत पनि बढ्दै गएको छ । यस आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, राष्ट्रिय बीमा संस्थानले २ अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेको छ ।