किसानको झण्डै ४७ करोड वक्यौता नतिर्ने दुई उद्योगका मालिक अग्रवाल पक्राउ | ठगी र सार्वजनिक अपराधको मुद्दा चल्नसक्ने : प्रहरी

काठमाडौं । अन्नपूर्ण सुगर मिल्स र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेश अग्रवाललाई आज बिहानै त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको छ । उनले सञ्चालन गरेका दुई उद्योगले उखु किसानको झण्डै ४७ करोड रुपैयाँ वक्यौता नतिरेको अभियोगमा गृह मन्त्रालयको आदेशमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीका अनुसार अग्रवाल सञ्चालक रहेको सर्लाहीस्थित अन्नपूर्ण सुगर मिल्सले रू. ३८ करोड ६८ लाख र नवलपरासीमा रहेको इन्दिरा सुगर एण्ड एग्रो प्रालिले ८ करोड ५८ लाख रुपैयाँ वक्यौता नतिरेको उजुरी परेपछि पक्राउ गर्न आदेश दिइएको हो ।
उनका अनुसार वर्षौंदेखि किसानलाई ठगेको देखिएपछि पक्राउ गर्न आदेश दिइएको हो । उनलाई पक्राउ गरी वक्यौता तिराउन उखु किसानहरूले किटानी जाहेरी नै दिएका छन् ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटकपटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा आएका थिएनन् । किसानहरुले आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आग्रहमा गृहले प्रहरी प्रधान कार्यालयलाई मंगलवार नै पक्राउ गर्न निर्देशन दिएको हो । उनीमाथि ठगी र सार्वजनिक अपराधको मुद्दा चल्नसक्ने प्रहरी स्रोतले बताएको छ ।