फेरि चल्ने भए राजधानीमा दिउँसै टिपर, बिहान ११ बजेदेखि ३ बजेसम्म चल्ने |
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन दिने निर्णय गरिएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न दिने निर्णय भएको हो ।
चालक अनुमतिपत्र, ब्लुबुक प्रतिलिपि, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर हिजोदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
बैठकले तिहार, नेपाल संवत, छठलगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षालाई थप प्रभावकारी बनाउने, देउसीभैलो कार्यक्रमलाई १० बजेसम्म सञ्चालन गर्न दिने, पटकालगायतका वस्तुलाई पूर्णतया नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।