करोडौंको वक्यौता बाँकी राखेर गयो एयर एशिया | पर्यटन बोर्डको पनि ७ करोडभन्दा बढी तिर्न बाँकी

काठमाडौं । नेपालमा वाइड बडी ए ३३० बाट काठमाडौं–क्वालालम्पुर दैनिक उडान गर्दै आएको मलेशियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको विलम्ब शुल्कबापतको रू. १३ करोड वक्यौता बाँकी राखेर सेवा बन्द गरेको छ । उक्त कम्पनीले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि १ वर्षका लागि भन्दै उडान स्थगित गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए ।
कम्पनीले हालसम्म करीब रू. ३० करोड बुझाइसकेको विमानस्थलले बताएको छ । कम्पनीले अवतरण (ल्याण्डिङ(, पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा(, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतमा बक्यौता बाँकी राखेर गएको छ । महाप्रबन्धक क्षत्रीका अनुसार उक्त रकम तिराउनका लागि नेपालस्थित मलेशियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । उक्त कम्पनीले नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको रू. ७ करोडभन्दा बढी रकम तिर्न बाँकी छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्षित गरी उडान शुरू गरेको उक्त कम्पनीले नेपाली कामदार मलेशिया जान रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरेको हो । महाप्रबन्धक क्षत्रीले लगातार घाटा भएपछि सेवा बन्द गर्न निवेदन दिएकोमा कामदारको समस्या समाधान हुने निश्चित भएकाले उडान बन्द नगर्न सुझाइएको बताए । नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान गर्ने एयरलाइन्स काठमाडौंबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिङ्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।