ग्लोबल आईएमई लघुवित्तको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफा १७९ प्रतिशतले बढ्यो |
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले नाफा तथा निष्क्रिय कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको देखिएको छ ।
लघुवित्तले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा १७९ प्रतिशत वृद्धि गरी ७६ लाख १९ हजार पुर्याएको छ जुन प्रतिशेयर (वार्षिक) ३१.७९ रुपैयाँ हो । संस्थाले आफ्नो निष्क्रिय कर्जा अनुपातलाई पनि १.६३ प्रतिशतबाट घटाएर ०.५१ प्रतिशतमा झारेको छ ।
९ करोड ६० लाख चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको उक्त संस्थाले ४५ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । तत्कालीन रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको उक्त संस्थाले आईएमई समूहको व्यवस्थापनमा आएपछि ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्दै आएको छ ।
नयाँ व्यवस्थापनसँगै लघुवित्तको कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको हो । कम्पनीले गत त्रैमाससम्म १ अर्ब ३० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा खुद ब्याज आम्दानी २ करोड १९ लाख पुर्याएको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा झण्डै दोब्बर हो ।