नेपाल र मलेसियाबीच श्रम सम्झौता, रोजगारदाताले नै सम्पूर्ण खर्च व्यहोर्ने |
काठमाडौं । नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले विशेष समारोहमा हस्ताक्षर गरेका हुन् ।
नेपाल र मलेसियाबीच डेढ दशकदेखि श्रम सम्बन्ध रहेपनि अहिलेसम्म श्रम सम्झौता हुन सकेको छैन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।
श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महिना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति जुटेको थियो ।
समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी पनि लाग्ने छैन ।
मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ । अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने श्रम मन्त्रालयले जानकारी दिएको छ
अब रोजगारदाताले वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ ।
कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइनेछ । कामदारका परिवारका निकटतम सदस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउने पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।
रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनुपर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।
प्राविधिक टोली गठन गरिने
सम्झौतापश्चात कामदार आपूर्तिका ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुनेछ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्ने बताइएको छ ।
श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सम्झौतामा हस्ताक्षर भए पनि प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने श्रम मन्त्रालयले जानकारी दिएको छ ।