ʽहिमालयन हाइड्रो एक्स्पो २०१९ʼ माघ ४ गतेदेखि राजधानीमा हुने |

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०१८ भब्य रुपमा सफल भएसगै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो । नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा बढदै गएको क्रियाकलापसंगै थप ऊर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र त्यस क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।
आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरिएको छ । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ ।
ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन् । २०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा वढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए ।

यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको इपान अध्यक्ष गुरागाईले बताए ।
विद्युतको सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्याउने विश्वास गुरागाईले लिएका छन् ।
सााथै एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थीहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने छ । हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।