राष्ट्रपति भण्डारी ४ दिने कतार भ्रमणका लागि प्रस्थान |

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे । सो अवसरमा नेपाली सेनाले सलामी दिएको छ ।
कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ । राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।
त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
यस्तो छ भ्रमण तालिका
भ्रमणका क्रममा कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् । यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्तअन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् । भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।