प्रधानमन्त्री ओली गतराति अस्पताल भर्ना | स्वास्थ्य रिपोर्ट : छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा ज्यादा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनको गतराति नै शिक्षण अस्पताल पुर्याई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरमा उपचार भइरहेको छ । अस्पतालले दिएको पहिलो रिपोर्टअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गर्दछौं ।’ उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा। दिव्या सिंह शाह, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा। दिलीप शर्मा, मुटु रोग विशेषज्ञ डा। अरुण सायमी र एनेस्थेसियाका डा। सुवास आचार्य छन् ।
निजी चिकित्सक डा। दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेको बताइएको छ । केही मिडियामा प्रधानमन्त्रीलाई आईसीयूमा राखी उपचार गरिएको भनिए पनि सीसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।