युएईमा नेपाली चेलीद्वारा अन्धाधुन्ध छुरा प्रहार गर्दा एक नेपाली चेलीकै हत्या | एक जना आईसीयूमा उपचारार्थ भर्ना, दुई जना सामान्य उपचारपछि कार्यस्थल फर्किए

शारजहाँ । यूएईमा एक नेपाली चेलीले आफूले काम गर्ने कम्पनीमा कार्यरत अन्य चार नेपाली चेलीमाथि अन्धाधुन्ध छुरा प्रहार गर्दा एक नेपाली चेलीको मृत्यु भएको छ । उक्त झगडामा मादप पदार्थ पिएकी नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चार जना साथीमाथि बिहीवार राति छुरा प्रहार गरेकी थिइन् ।
छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते ममता चौधरीको आईसीयूमा उपचार भइरहेको छ । अन्य घाइतहरू सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थलमा फर्किसकेका छन् । घाइते तीन जनाको ठेगाना अझै खुलेकोे छैन ।
तामाङले मादक पदार्थ सेवन गरी झगडा शुरू गरेको र झगडाले उग्र रूप लिएपछि अन्धाधुन्ध छुरा प्रहार गरेको नेपाली दूतावास अबुधावीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए । छुरा प्रहार गर्ने तामाङलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान चलाइरहेको दूतावासले जानकारी दिएको छ । युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छाअनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।
यसअघि करिब ४ वर्षअघि सोही कम्पनीमा कार्यरत जनकपुरका वीरेन्द्र शाहले (सुरी) पाँचथरका रञ्जित खपांगीको छुरा प्रहार गरी हत्या गरेका थिए । शाह अहिले युएईमा सजाय भोगिरहेका छन् । विदेशिक रोजगारीमा रहेका नेपाली चेलीले नेपाली चेलीमाथि नै छुरा प्रहार गर हत्या गरेको यो पहिलो घटना हो ।