नेपालभित्रै पर्यटन रोजगारका अवसरः विज्ञहरू |

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले अबका केही वर्षभित्र नेपालमा नै अन्तरराष्ट्रिय स्तरको पर्यटन रोजगारको व्यापक माग सिर्जना हुने भएकाले सोहीअनुसारको जनशक्ति तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
ʽनेपाल सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरैमात्र लोन्लीप्लानेटले काठमाडौंलाई विश्वकै घुम्नै पर्ने सहरभित्र समेटेको छ,ʼ अन्तरराष्ट्रिय पर्यटन शिक्षाविद् डा. बर्न भान वाल्विकले भने, ʽहिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटलहरू नेपालमा पनि खुल्नेछन्, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।ʼ

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा डा. वाल्विकले दुई वर्षअघिमात्र महाभूकम्पबाट ठूलो नोक्सानी बेहोरेको नेपालको पर्यटन क्षेत्र निकै छिटो पुनस्र्थापित भएको भन्दै प्रशंसा गरे । प्रकोप तथा संकटपछिको पर्यटनको व्यवस्थापनसम्बन्धी विज्ञ मानिने डा. वाल्विकले भूकम्पलगत्तै पाटा नेपालको निमन्त्रणामा यहाँको पर्यटन पुनस्र्थापनाका विषयमा प्रवचन दिएका थिए ।
यसैगरि, स्वीजरल्यान्डको स्वीस होटल एसोसियसन होटलरीस्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको परिप्रेक्षमा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए ।
नेपालका लागि स्वीजरल्यान्डकी राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्वीजरल्यान्डले ६०को दशकदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै गेट कलेजले नेपालमै स्वीस सम्बन्धनमा अन्तरराष्ट्रिय स्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएकोमा सह्राहना गरेका थिए ।

कार्यक्रममा गेट कलेजका संस्थापक÷प्रमुख कार्यकारी अधिकृत खेम लकाईं, एकेडेमिक काउन्सिल प्रमुख डा. दलजीत राव र गेट सञ्चालक समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले विगत ११ वर्षदेखि गेट कलेजले विश्व पर्यटन बजारमा प्रतिष्पर्धात्मक रूपमा आफूलाई उभ्याउन सक्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको जानकारी दिएका थिए ।
सन् २०१८ को दीक्षान्त समारोहबाट १५ औं र १६ औं ब्याचका कुल ९७ जना विद्यार्थीहरू दीक्षित भएका गेट कलेजले जानकारी दिएको छ । उक्त कार्यक्रममा १६ औं ब्याचबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने राजमिलन पौडेलसहित उत्कृष्ट अनुसन्धानका पौडेलसहित १५ औं ब्याच स्वीटी श्रेष्ठलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
गेट कलेजबाट हालसम्म नेपालभित्रका सबै जिल्लाबाहेक १९ मुलुकबाट करिब ४५० सय विद्यार्थीहरू होटल व्यवस्थापन शिक्षाको स्नातक तहमा दीक्षित भइसकेका छन् ।