प्राधिकरण देशभर ‘चार्जिङ स्टेशन’ बनाउँदै | राजमार्गमा ३०३० किलोमिटरको फरकमा चार्जिङ स्टेशन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । प्राधिकरणले सरकारले अगाडि सारेको विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने कार्ययोजनालाई लागू गर्न उक्त प्रक्रिया अगाडि बढाउन लागेको हो ।
सडक पुगेका नेपालका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले त्यस्ता स्टेशन निर्माण गर्न लागिएको प्राधिकरणले बताएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनले हिजो शुक्रवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको ब्याट्री चार्जका लागि निकट भविष्यमै काठमाडौं उपत्यकामा केही स्टेशन तयार गरिने जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन पहिले प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गरेका थिए । ‘चार्जिङ स्टेशन’ बनाउन समस्या नभए पनि के कति महशुल लिने, कसरी शुल्क लिने तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेलगायतका विषयमा भने नीतिगत व्यवस्था गर्न बाँकी रहेको घिसिङको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुल्क तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेसम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०÷३० किलोमिटरमा र राजधानीमा पनि सहज रूपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनुपर्छ ।
हाल रत्नपार्क र थापाथलीमा ‘चार्जिङ स्टेशन’ निर्माण भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको खर्चसमेत कम हुने भएकाले हाल संसारभर नै विद्युतीय सवारीतर्फ मानिसहरूको आकर्षण बढेको छ ।
एशियाली विकास बैंकको सहयोगमा साझा यातायातले दुईवटा विद्युतीय सवारीसाधन भित्रयाइसकेको छ भने थप तीनवटा आउने क्रममा छन् । घिसिङले कानूनी प्रबन्ध हुनेबित्तिकै स्टेशन बन्ने र नेपालमा हरेक वर्ष विद्युतीय सवारीसाधन चढ्नेको संख्यामा वृद्धि हुने बताए । राजमार्ग क्षेत्रमा पनि सहज रूपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजीक्षेत्रसमेत यसमा आकर्षित हुने उनको भनाइ छ ।