आगामी असारदेखि नै राष्ट्रिय परिचयपत्र लागू हुँदै | सबैको परिचय र आर्थिक विवरण रियल टाइममा, कागजपत्र पेश गर्ने दिन गए
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भुक्तानी सेवालगायत सबैको विवरण खुल्ने राष्ट्रिय परिचयपत्र आगामी असारभित्रै कार्यान्वयमा ल्याइसक्ने बताएका छन् । उनले यसबाट सबैको परिचय खुल्ने र कागजपत्र आवश्यक नपर्ने भन्दै रियलटाइम कारोबारका लागि केही प्राविधिक काम सकेपछि उसको आर्थिक कारोबारको विवरण पनि सोही परिचयपत्रमा देखिने बताए । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले त्यस्तो जानकारी दिएका हुन् ।
उनले इकमर्सको माध्यमबाट कारोबार खर्च घटाउनुपर्ने बताउँदै त्यसका लागि नियमावली बनाउने कामसमेत शुरू भइसकेको जानकारी दिए । उनका अनुसार अब १÷२ दिनभित्रैमा नियमावलीको मस्यौदा बनाउन समिति बन्ने बताउँदै समितिले पुरानो मस्यौदालाई थप परिमार्जन गर्ने जानकारी दिए । इकमर्सले सरकार र सर्वसाधारण सबैलाई फाइदा हुने भन्दै उनले यसका लागि आवश्यक काम चाँडो सक्न राष्ट्र बैंकलाई निर्देशन दिए ।
‘एनसीएचएलले क्लियरिङमा सरकारलाई चुनौती दिएको छ, बल्ल बल्ल यो ठाउँमा एनसीएचएल आइपुगेको छ । यसको कामले अब सरकार चाहिँदैन भन्ने देखाइदिएको छ, यस्ता क्षेत्रबाट सरकार बिस्तारै अब बाहिरिन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अब क्लियरिङका लागि सार्वजनिक क्षेत्र आवश्यक पनि छैन । हिजोको दिनमा आवश्यक थियो । निजी क्षेत्र आएपछि सरकार त्यसमा झुण्डिएर बस्दैन ।’