हेटौंडामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको स्थापना हुँदै, कार्यालयको उद्घाटन सम्पन्न |
हेटौंडा । प्रदेश नं ३ को राजधानी हेटौंडामा २ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले हेटौंडा– १४, मयुरधामस्थित कालापानीमा कार्यालय स्थापना गरी त्यसको उद्घाटनसमेत गरेका छन् ।
६२ वटा प्लटसहितको उक्त प्रदेशस्तरीय औद्योगिक क्षेत्रमा औद्योगिक प्रतिष्ठान सञ्चालन हुने बताइएको छ । जग्गाको भोगअधिकार प्राप्त भएपछि छिट्टै नै औद्योगिक क्षेत्र व्यवस्थापन कार्य शुरू हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।
हेटौडामा सञ्चालनमा आउने यो दोस्रो औद्योगिक क्षेत्र हो । यस अघि २०२० सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण भएको हेटौंडा औद्योगिक क्षेत्र सञ्चालनमै रहेको छ । यो २ सय २६ बिगाहा जमिनमा स्थापना भएको औद्योगिक क्षेत्र हो ।