वैदेशिक व्यापार मेलाका नाममा विदेश जाने प्रथाको अन्त्य | अबदेखि वस्तु निर्यातका आधारमा सहभागीको छनोट, व्यावसायिक छाता संगठनको कोटा खोसियो
काठमाडौं । व्यावसायिक छाता संगठनका पदाधिकारीहरूलाई खुशी पारेर विदेशमा हुने व्यापार तथा प्रदर्शनीमा सहभागी हुने नाममा विदेश जाने प्रथाको अन्त्य भएको छ । यसअघि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्शजस्ता छाता संगठनलाई कोटा उपलब्ध गराउँदै आएको थियो । उक्त कोटामा संगठनका पदाधिकारीहरूले आफ्ना नातागोतालाई मात्र मेलाका नाममा विदेश पठाउँदै आएका थिए ।
यस पटकदेखि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आफैं सूचना प्रकाशन गरेर वैदेशिक व्यापार तथा प्रदर्शनीमा सहभागी हुने कम्पनी तथा फर्म छनोट गर्न थालेको छ । केन्द्रले त्यस्तो कोटा प्रणाली खारेज गरेर आफैंले सूचना प्रकाशन गरी प्रतिस्पर्धाका आधारमा व्यापारिक फर्म तथा कम्पनी छनोट गर्न थालेको हो । यसँगै व्यापारिक मेलाका नाममा विदेश जाने सिण्डिकेटको अन्त्य भएको हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, ‘हामीले यस वर्षदेखि वैदेशिक व्यापार तथा प्रदर्शनी मेलामा प्रतिस्पर्धाबाटै सहभागी छनोट गर्न थालेका छौं । छाता संगठनका कोटाअनुसार पठाउँदा योग्यले अवसर नपाउने र पदाधिकारीका नजिकका व्यक्ति र आफन्तले मात्र अवसर पाउने गुनासो धेरै आउन थालेपछि हामीले खुल्ला प्रतिस्पर्धाबाट सहभागी छनोट गर्ने प्रक्रिया अपनाएका हौं ।’
१६औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाका लागि सहभागी छनोट
केन्द्रले हिजो बिहीवारदेखि १२ गतेसम्म १६औं नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलामा सहभागी हुने फर्म तथा कम्पनी छनोट गरेको छ । उक्त मेलामा नेपालका लागि उपलब्ध गराएको ५० स्टलका लागि ५९ वटा फर्म तथा कम्पनी छनोट गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सूचना अधिकारी गोविन्द आचार्यले जानकारी दिए । छनोट भएका सबै सहभागी मेलाका लागि चीन प्रस्थान गरिसकेको पनि उनले जानकारी दिए ।
केन्द्रले आर्थिक तथा व्यापार मेलामा सहभागी हुन चाहने फर्म तथा कम्पनी छनोट गर्दा विगत २ वर्षयता गरेको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर आवेदकको मूल्यांकन गरेको थियो । ‘गत दुई आर्थिक वर्षमा सबैभन्दा धेरै वस्तु निर्यात गरेका र कुनै पनि व्यापारिक मेला तथा प्रदर्शनीमा सहभागी नभएका कम्पनीलाई प्राथमिकता दिएका छौं’, कार्यकारी निर्देशक राणाले भने । अबदेखि सबै वैदेशिक व्यापार मेलाका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नै खुल्ला प्रतिस्पर्धाका आधारमा सहभागी छनोट गर्ने उनले जानकारी दिए ।
तिब्बतमा हुन लागेको व्यापार मेलामा सहभागी हुन चाहने फर्म तथा कम्पनीका लागि आवेदन गर्न भन्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सूचना प्रकाशन गरेको थियो ।