निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त |

काठमाडौं । प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृह मन्त्रालयले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको छ । निर्मला पन्त हत्याको छानबिनमा लापरबाही गरेको आरोपमा सरकारले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर भट्टले लापरबाही गरेको भेटिएको थियो ।
विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरबाही भएको रिपोर्ट दिएपछि स्पष्टीकरण सोधिएको र दुवैले लापरबाही नभएको दाबी गरेका थिए । तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

घटनामा प्रहरीबाट चरम लापरवाही, गैरव्यावसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको छ । साथै, बालिका हराएको खबर आएपछि तत्काल खोजतलास नगरेको, बलात्कार तथा हत्यासँग सम्बन्धित प्रमाणहरु भित्री वस्त्र पानीमा चोपल्नु, यौनाङ्ग तथा तिघ्रा पखाल्नु, कपडाहरू हराएको, नेपालमा नभएका मृतकका बाबुको दस्तखत गराइनु तथा मृतकको शव जलाउन अनावश्यक दबाब दिइनु जस्ता कार्य गरी लापरबाही गरेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रहरी प्रधान कार्यालयले आमनागरिक र पीडित परिवारका सदस्यहरू प्रहरीको कामकारबाहीप्रति विश्वस्त हुन नसक्ने गरी गम्भीर लापरबाही गरेको ठहर गर्दै एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाटै बर्खास्त गर्न सिफारिश गरेको गृह मन्त्रालयले जानकारी दिएकोे छ ।