एनआईसी एशियाको नयाँ शाखा मानेभञ्ज्याङमा | बैंक अब शाखा सञ्जालमा पहिलो भएको दाबी
काठमाडौं । एनआईसी एशिया बैंकले हालै संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– ३, मानेभञ्ज्याङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले आज उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै कार्यकारी निर्देशक निरौलाले सम्पूर्ण स्थानीय निकायमा वाणिज्य बैंकको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा एनआईसी एशिया बैंकले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै नयाँ शाखा स्थापना गर्ने कार्यलाई जारी राखेको बैंकको प्रशंसा गरे । उनले नेपालका दूरदराजमा वित्तीय पहुँचमा आउन नसकेका सर्वसाधारणहरूलाई उच्चस्तरीय बैंकिङ सेवा दिन बैंकले ठूलो भूमिका खेलेको बताए ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले एनआईसी एशिया बैंक निजीक्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको जानकारी दिए । हाल यस बैंकले देशभर २ सय ६४ वटा शाखा कार्यालय, २ सय ६० एटीएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ ।
हालको बैंकको वासलातको आकार १९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब रुपैयाँ तथा कर्जा लगानी १३८ अर्ब रुपैयाँ पुगेको छ । उपभोक्ता संख्या १३ लाख ५० हजारभन्दा बढी रहेको यस बैंकले नेपालका अन्य विभिन्न स्थानहरूमा समेत चाँडै नै नयाँ शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको पनि बैंकले जानकारी दिएको छ ।