सिन्धुली सडकका लागि जापानको रू. १ अर्ब ८५ करोड अनुदान | मर्मत सम्भारको काम एक वर्षमा सक्ने लक्ष्य
काठमाडौं । महाभूकम्पका कारण भत्केको सिन्धुली सडक मर्मतसम्भार गर्न जापान सरकारले रू. १ अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका हुन् ।
पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने १ सय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । २० वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको १ महिनापछि आएको भूकम्पले प्रभावित भएको थियो । मर्मतसम्भारको काम आगामी १ वर्षमा पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि मर्मत सम्भारको काम शुरू हुने अर्थ मन्त्रालयले बताएको छ ।
कार्यक्रममा राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण रहेको सिन्धुली सडकको मर्मत सम्भारका लागि जापानले पुनः अनुदान सहयोग गरेको बताए । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकोमा हार्दिक आभार व्यक्त गरे ।