तरकारीको मूल्य ४० प्रतिशतले घट्यो, उपभोक्तालाई फाइदा, किसान घाटामा |

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं सकिएलगत्तै काठमाडौंमा तरकारीको मूल्यमा भारी रूपमा गिरावट आएको छ । दशैं सकिएलगत्तै तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्म गिरावट भएको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
उनका अनुसार उत्पादनमा वृद्धि र दशैंका बेला खपत पनि कम भएकाले मूल्यमा त्यस्तो ठूलो गिरावट आएको हो । दशैं शुरू हुँदा नै तरकारीको भाउमा गिरावट आउन थापलिसकेको थियो । उनले भने, ‘काउली यतिबेला प्रतिकिलो २५ रुपैयाँसम्म विक्री भएको छ, अघिल्लो हप्ता ४० रुपैयाँमा विक्री हुने गरेको बन्दा अहिले २५ रुपैयाँमा पनि विक्री हुन गाह्रो छ ।’
उनले आलुबाहेक सबै तरकारीको मूल्य घटेको बताए । तरकारीको मूल्यमा भारी गिरावट आउँदा उपभोक्ताहरूलाई फाइदा पुगे पनि तरकारी उत्पादक किसानहरू भने मर्कामा परेका छन् ।