मध्यभोटेकोशीले १ अर्ब ४४ करोडको आईपीओ निष्कासन गर्दै | कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मात्र आवेदन दिन पाउने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रू. १ अर्ब ४४ करोडबराबरको १ करोड ४४ लाख कित्ता साधारण शेयर (आईपीओ) विक्री गर्न लागेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डले गत असोज २९ गते नै सीमित साधारण शेयर विक्रीका लागि स्वीकृति दिएसँगै उक्त संख्यामा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त शेयरमा आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३७ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत लगानी रहेको छ भने सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु इन्भेस्टमेन्टको १÷१ प्रतिशत शेयर रहेको छ ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, स्थानीयवासी र आम सर्वसाधारणको गरी कूल ४९ प्रतिशत शेयर रहनेछ । यस्तै, लगानीकर्ता संस्थाको कूल ५१ प्रतिशत शेयर रहने उक्त आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । आयोजनाको हाल ४५ प्रतिशत काम सकिएको बताइएको छ ।