एनआईसी एशियाको ‘११ प्रतिशत ऋणपत्र’को विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त | धितोपत्रबोर्डले स्वीकृति दिएलगत्तै विक्री खुला हुने, सर्वसाधारणका लागि २० प्रतिशत
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले निष्कासन गर्न लागेको ऋणपत्रका लागि विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले हस्ताक्षर गरेका हुन् ।
बैंकले लगानीकर्ताहरूलाई उत्कृष्ट प्रतिफलसहितको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५÷८६’ निष्कासन गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका निमित्त उक्त मर्चेन्ट बैंकिङलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यसअगाडि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैयाँको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२÷८३’ सम्पूर्ण रूपमा आवेदन प्राप्त भई बाँडफाँडसमेत भइसकेको छ । प्रस्तावित वार्षिक ११ प्रतिशत ब्याज भएको अब जारी हुने उक्त ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी हुने गरी ल्याइएको बंैकले बताएको छ ।
४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रू. ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रू. ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा विक्री खुला गरिने बैंकले जानकारी दिएको छ । बैंकले सो ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको हो ।