जुम्ला विमानस्थल एक महीना बन्द गरिने, कात्तिकमै सक्ने लक्ष्य |

जुम्ला । जिल्ला सदरमुकाम खलंगास्थित विमानस्थल १ महिनाका लागि बन्द गरिने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माले उक्त विमानस्थलको धावनमार्गको स्तरोन्नति कार्य गर्नका लागि उक्त अवधिसम्म उडान बन्द गर्ने जानकारी दिएका हुन् ।
शर्माले हाल पनि जहाज अवतरण हुनुभन्दा अघि र पछि स्तरोन्नति कार्य भइरहेको बताए । स्तरोन्नति छिटो सिध्याउन भोलि बिहीवारदेखि उडान बन्द गर्ने निर्णय गरिएको उनले बताए । यस विमानस्थलमा तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्ने गरेका छन् ।
विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्फ पहिला गरिएको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्न लागिएको हो । दशैंतिहारमा जहाज बन्द नगर्नुपर्ने भए पनि मौसमको अनुकूलताले गर्दा बन्द गर्नुपरेको हो ।
स्तरोन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नतिमा ढिला नहुुने बताइएको छ । मङ्सिर–पुसमा चिसोले कालोपत्र गर्न नसकिने भएकाले कात्तिकभित्रै काम सक्ने गरी तयारी थालिएको हो ।