पूँजीगत खर्च लक्ष्यअनुसार बढेन | पूँजीगत खर्च ७ प्रतिशत, रू. ९ खर्ब ४५ अर्ब ५६ करोड राजस्व उठाउने सरकारी लक्ष्य
काठमाडौं । सरकारले समयमै चालू आर्थिक वर्ष (आव) को बजेट सार्वजनिक गरे पनि पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको पाइएको छ । चालू आव शुरू भएयता सोमबारसम्मको राजस्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको हो ।
चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको बताइएको छ । चालू आवको तीन महीना सकिँदा ७ दशमलव २० प्रतिशत मात्र पूँजीगत खर्च हुन सकेको पाइएको छ ।
गत जेठ १५ गते नै चालू आवको बजेट प्रस्तुत गरेर सरकारले खर्चको अख्तियारी समयमै दिए तापनि यस अवधिमा विकास निर्माणको काममा सोचेअनुसार प्रगति हुन सकेको छैन । यस्तै सोमवारसम्म सरकारले रू. २ खर्ब ३१ अर्ब ३८ करोडबराबरको राजस्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा रू. ९ खर्ब ४५ अर्ब ५६ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । हालसम्म कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजस्व संकलन भएको छ ।