हिमालयन ऊर्जाको आईपीओ आजदेखि निष्कासन | ५० देखि ४ हजार ९ सय कित्तासम्मका लागि आवेदन दिन पाइने
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उनीहरूका लागि ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
छिटोमा कात्तिक २७ गतेसम्म निष्कासन गर्ने उक्त शेयर पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर ५ गतेसम्म निष्कासन गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ । आजदेखि निष्कासन गरेको उक्त शेयर न्यूनतम ५० कित्ता र अधिकतम ४९ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रभावित क्षेत्रका बासिन्दाले पाएको शेयर बाँडफाँड भएको तीन वर्षसम्म विक्री गर्न नपाउने कम्पनीले बताएको छ ।
क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्राप्त उक्त कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ती खोलामा १ अर्ब ९१ करोड रुपैयाँ लागतमा उपल्लो खिम्ती र १ अर्ब २३ करोड रुपैयाँको लागतमा अपर खिम्ती आयोजना गरी दुईवटा आयोजना निर्माण गरिरहेको छ ।
हालसम्म ती आयोजनाको काम ५५ प्रतिशत सकिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आयोजना निर्माणको लागि ९९ करोड रुपैया शेयर पूँजीबाट जुटाउने भएको छ । जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत अर्थात् ७४ करोड २५ लाख रुपैयाँ, आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीका लागि १५ प्रतिशत अर्थात् १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । संस्थापकतर्फको शेयर पूँजी जुटिसकेको छ भने बाँकी जुटाउने तयारीमा छ ।
आवेदनका लागि कम्पनीको आयोजना स्थल रामेछाप, सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट फारम पाइनेछ ।