वाणिज्य बैंकहरूलाई साधारणसभा गर्ने बाटो खुल्यो | आधा दर्जनभन्दा बढी बैंक साधारणसभाको स्वीकृतिका लागि पुगे राष्ट्र बैंक
काठमाडौं । विगतमा दसैंअघि नै आधा दर्जन वाणिज्य बैंकले वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेकोमा यस पटक बल्ल साधारणसभा गर्नका लागि बाटो खुलेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) मा लाभांश घोषणा गर्ने बाटो खोलिदिएसँगै वाणिज्य बैंकहरूका लागि साधारणसभा गर्ने बाटो पनि खुलेको हो । अहिले वाणिज्य बैंकहरू साधारणसभाका लागि स्वीकृति माग्न राष्ट्र बैंक पुगेका छन् ।
वाणिज्य बैंकहरू खासगरी नोक्सानी व्यवस्थापनसँग सम्बन्धित विषयमा अप्ठेरोमा परेका थिए, जसका कारण साधारणसभा रोकिइरहेको थियो । राष्ट्र बैंकको नीतिअनुसार नोक्सानी व्यवस्थापन गर्दा बढी रकम देखाउनुपर्छ । तर, एनएफआरएसअनुसार कम देखिन्छ । यसो हुँदा नाफा उच्च हुन्छ । त्यसैले कुन नाफामा लाभांश बाँड्ने र सरकारलाई कर तिर्ने भन्ने विषयमा रहेको त्यो अन्योललाई आईक्यानले सम्बोधन गरिदिएपछि वाणिज्य बैंकहरूलाई साधारणसभा गर्न बाटो खुलेको छ ।
आईक्यानले बाटो खोलिदिएसँगै अहिले एक दर्जन बैंक वार्षिक प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेका छन् । सानिमा, एभरेष्ट, सिटिजन्स, एनआईसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव गर्दै विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा फाइल पठाइसकेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले भने, ‘करिब एक दर्जन वाणिज्य बैंकले साधारणसभाको स्वीकृतिका लागि फाइल पठाएका छन्, दशैं बिदा सकिएकाले हामीले सबै फाइल हेरिरहेका छौं ।’
एनएफआरएसअनुसार हिसाब देखाउन नपर्ने केही विकास बैंक, लघुवित्त वित्तीय संस्थाले दसैंअघि साधारणसभा गरेका छन् । विभागका एक अधिकारीले भने, ‘राष्ट्र बैंकका लागि पनि एनएफआरएस नयाँ भएकाले समय लागेको हो, सकेसम्म चाँडो फाइल सक्ने योजनामा छौं ।’
बैंकर्स संघले राखेको सातबुँदे समस्या अनुसार नै आईक्यानले समस्या समाधान गरिदिएको हो । नेपालमा वित्तीय प्रतिवेदनको ढाँचा आईक्यानले तयार पार्छ र त्यसैका आधारमा सबैले हरहिसाब तयार पार्नुपर्छ ।