२९ वर्षदेखि फरार अभियुक्त यसपालिको दशैंमा पक्राउ |

काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि हालै पक्राउ परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की जग्गा विवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका थिए ।
कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । घटनापछि भारतमा बस्दै आएका कार्कीलाई दशैं मनाउन घर आएको बेला जिल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिएका हुन् ।