बडादशैंको पूर्वसन्ध्यामा चोरको बिगबिगी, काठमाडौंबाट मात्रै १ सय १८ चोर पक्राउ |
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं तथा तिहारको समयमा चोरहरू अत्यधिक रूपमा सक्रिय रहने गरेका छन् । यस वर्षको दशैं शुरू हुनुभन्दा अगाडि करिब दश दिनको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार परिसरबाट खटिएको टोलीलगायतले चोरी गर्दै गर्दा, चोरी गरेर भाग्दै गर्दा र लुकिछिपी बसेको अवस्थामा चोरहरूलाई नियन्त्रणमा लिएको हो । उनले भने, ‘पछिल्लो समयमा त चोरहरू चोरी गर्दागर्दैको अवस्थामा नै पक्राउ पर्ने गरेका छन् ।’ सिभिल प्रहरीको सक्रियताले रंगेहात पक्राउ गर्ने सफलता मिलेको उनको भनाइ छ ।
राजधानीको न्यूरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरू सक्रिय रहेको एसएसपी लामाले जानकारी दिए । बढी आर्थिक कारोबार हुने र भीडभाड भएको क्षेत्रमा भीआईपी पकेटमार सक्रिय हुने उनले बताए । भीड भएको ठाउँ र सार्वजनिक सवारीमा यात्रा गर्दा ध्यान दिन उनको सुझाव छ ।
हाल दिनको समयमा सयको हाराहारीमा र रातिको समयमा १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको एसएसपी लामाले जानकारी दिए । काठमाडौंमा ३ सयदेखि ५ सय जना पाकेटमार सक्रिय रहेको उनको भनाइ छ । उनका अनुसार तिनमा पनि आधाभन्दा बढी पटके पाकेटमार रहेका छन् ।