राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, उक्त दिन शीतल निवासको ढोका नं १ खुला रहने |

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमी अर्थात् टीकाको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् । उक्त कार्यक्रमका लागि राष्ट्रपति कार्यालयले उक्त दिन राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहने बताएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि समय तालिका बनाइएको छ ।
राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो । यस्तै निजामती, जंगी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।