माथिल्लो तामाकोशीको आईपीओका लागि कात्तिक १५ गतेदेखि आवेदन खुल्दै | १ अर्ब ५८ करोडको आईपीओ आउने, १ हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । आयोजनाले १ अर्ब ५८ करोड रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर आगामी कात्तिक १५ गतेदेखि निष्कासन गर्न लागेको बताएको हो ।
आयोजनाले आम सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।
उक्त आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर विक्री गरिसकेको छ । यस्तै, आयोजनाले गत साउन १६ देखि गतभदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि भनेर रू. १ अर्ब ५ करोडबराबरको साधारण शेयर विक्री गरेको थियो । आयोजनाले तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर विक्री गर्न लागेको हो ।
स्वदेशी लगानीमा निर्माण भइरहेको उक्त आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अनुमान गरिएको छ । उक्त साधार शेयरको विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।