सुनको भाउ आज ६ वर्ष यताकै महँगो | तोलाको ६० हजार पुगेपछि गहना किन्नेको भीड ह्वात्तै घट्यो
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला ६० हजार पुगेको छ । गत शुक्रबार पनि ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्यमा बीचमा दुई रुपैयाँ घटे पनि आज पुनः ६० हजार रुपैयाँ प्रतितोला पुगेको हो ।
आज कायम भएको सुनको भाउ ६ वर्षयताकै महँगो हो । सुनको भाउ फेरि ६० हजार रुपैयाँ पुगेपछि सुनका गरगहना किन्ने ग्राहकहरूको भीड ह्वात्तै घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भोलि मंगलवारका लागि पनि ६० हजार नै कायम गयिरएको जानकारी दिए । उनका अनुसार २०६९ भदौमा सुनको मूल्य प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो ।
उनका अनुसार नेपाली बजारमा सुनको मूल्य घटेर प्रतितोला ४७ हजार ७ सयसम्म झरेकोमा दुई वर्ष यता भने लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र छिमेकी मुलुक भारतको बजारले सुन खपत बढाएका कारण सुनको मूल्य बढ्न टेवा पुगेको उनको भनाइ छ । अर्को कुरा, हिन्दुहरूको चाड दशैं, तिहार र छठ आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको र त्यसैका कारण मूल्य बढेको शाक्यको ठहर छ । भातीय रुपैयाँ डलरसँग कमजोर हुँदा पनि सुनको मूल्य वृद्धि भएको विश्लेषण हुन थालेको छ ।
आज कायम रहेको सुनको मूल्य आगामी आइतबारसम्म कायम रहने बताइएको छ । दशैं पर्व परेकाले नेपाल सुन चाँदी व्यवसायी महासंघले आगामी आइतबार अघि सुनचाँदीको नयाँ मूल्य प्रकाशित नगर्ने बताएको छ ।