रुरु जलविद्युत परियोजनाले ८ करोड १५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने |

काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको रुरु जलविद्युत परियोजनाले आइपिओको क्रेडिट रेटिङ गराएको छ । कम्पनीले ८ करोड १५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गरेको हो ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा कम्पनीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएको छ । पहिलो चरणमा प्रभावित क्षेत्रका वासिन्दाको लागि ४ करोड १७ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा असोज ११ गते निवेदन दिएको थियो ।
कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशनपछि सर्वसाधारणको लागि पनि ४ करोड ७ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । ५ मेगावाट क्षमताको अपर हुग्दी खोला हाइड्रोपावर प्रोजेक्टको प्रतिमेगावाट लागत १४ करोड ९० लाख रुपैयाँ रहेको छ । अन्य निजी स्तरबाट निर्माण भएका आयोजनाको तुलनामा यसको खर्च तुलनात्मक रुपमा कम हो ।
शुरुमा २.६ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको भए पनि पछि क्षमता बढाएको हो । आयोजनाको जम्मा लागत ७४ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमा ६३ प्रतिशत ऋण र ३७ प्रतिशत शेयर पूँजी रहेको छ । सन् २०१५ देखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको कम्पनीले गत वर्ष तीन करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले आयोजना निर्माणका लागि लिएको ३९ करोड ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।