सूर्य किरण फाइबर उद्योगको नयाँ उत्पादन कम्पोजिट मेनहोल कभर बजारमा | दक्षिण एशियामै नौलो प्रविधि, हलुका हुनाले जडान गर्न सजिलो

काठमाडौं । चितवनको भरतपुरस्थित सूर्य किरण फाइबर उद्योग प्रालिले हालैदेखि कम्पोजिट मेनहोेल कभरको उत्पादन शुरू गरेको छ । यसअघि फाइवरका झ्याल, ढोका, चौकोस, अर्ध पारदर्शी फाइवर जस्तापाता, बाथ टब आदि उत्पादन गर्ने गरेको सो उद्योगले हालैदेखि नयाँ उत्पादनका रूपमा चलचल्तीको भन्दा बढी नै भार वहन गर्न सक्ने कम्पोजिट मेनहोलको उत्पादन शुरू गरेको हो ।
सूर्य किरण फाइबर उद्योग वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले विदेशमा सिकेको सीपलाई नेपालमा व्यवहारमा ल्याई स्वरोजगार बन्न र देशको अर्थतन्त्रमा योगदान पुर्याउने अभिप्रायले करिब एक दशकअगाडि स्थापना गरिएको उद्योग हो ।
कम्पनीका अनुसार उत्पादन प्रविधिमा आमूल परिवर्तन गर्दै दक्षिण एशियामै नौलो ग्लास फाइवरको प्रयोग गरी एसएमसीबाट मेनहोल तयार गर्ने प्रविधि अपनाएर मेनहोलको उत्पादन शुरू गरेको हो । यसरी बनाइएका मेनहोलहरूको भार वहन गर्न सक्ने क्षमता अन्य मेनहोलहरूको तुलनामा निकै बढी हुने कम्पनीको दाबी छ ।
विभिन्न किसिमका रसायनहरू, लवण (साल्ट) तथा मौसमी प्रतिकूलताबाट पनि यस्ता मेनहोलहरू तुलनात्मक रूपमा निकै सुरक्षित हुने हुनाले यूरोप, अमेरिका, चीन, मध्यपूर्वलगायतका मुलुकमा यसको प्रयोग बढ्दै गएको छ । खैरो र कागती (पहेँलो) रङमा उपलब्ध मेनहोल कभरहरू हेर्दा आकर्षक र प्रयोग गर्न निकै सजिला छन् । फाइबर ग्लासबाट बनेका मेनहोल कभरहरूको तौल अन्य किसिमका मेनहोल कभरको तुलनामा हलुकासमेत हुने हुनाले जडान गर्दा सजिलो र दुर्घटनामा पनि कमी आउने विश्वास कम्पनीको छ ।
उद्योगले ठूला राजमार्गका लागि, शाखा तथा भित्री सडकका लागि, उद्योग कलकारखानाका लागि एवम् घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै भारवहन क्षमता र मूल्यका मेनहोलहरू उत्पादन गरेको जानकारी दिएको छ ।
भरतपुरस्थित डालिमा इण्टरनेशनल प्रालिले बजारीकरण गर्ने उक्त मेनहोलमा प्रयोग हुने कच्चा पदार्थ र उत्पादन प्रविधिले उत्पादित वस्तुको भारवहन क्षमता निर्धारण हुने हुनाले कम्पोजिट मेनहोल अथवा ग्लास फाइवर मेनहोलका नाममा बजारमा आउन सक्ने यस्ता सामग्रीहरू सबै उच्च गुणस्तरका नहुन सक्ने भएकाले यसप्रति सजग रहन पनि कम्पनीले सुझाव दिएको छ ।