किसान माइक्रोफाईनान्सले दिने भयो ५० प्रतिशत हकप्रद |
काठमाडौं । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । बोर्डले असोज २५ गते बिहीवार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।
किसान माइक्रोफाइनान्सले चुक्ता पूँजी ४ करोड ८० लाख रुपैयाँको २ बराबर १ कित्ताको अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २ सय ५० कित्ता हकप्रद शेयर विक्रीमा ल्याउन स्वीकृती पाएको हो ।
यससँगै लघुवित्तले बढीमा अबको दुई महिनाभित्रमा बुकक्लोज मिति तोकेर हकप्रद जारी गर्नेछ । माइक्रोफाइनान्सले शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।
हकप्रदको लागि माइक्रोफाइनान्सले असार १४ गते धितोपत्र बोर्डमा आबेदन दिएको थियो । त्यसको करिब ३ महिना पछि हकप्रद स्वीकृत भएको हो । दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत घोषणा गरेको छ । बोनसपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ६० लाख पुग्नेछ ।
माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानीमा १९ रूपैयाँ २५ पैसा कायम गरेको छ । लघुवित्तको शेयर नेप्सेमा असोज २५ गते बिहीबार प्रतिकित्ता एक हजार ६५९ रुपैयाँमा कारोबार भएको छ ।