आर्थिक समृद्धिका लागि पूँजी, सीप र प्रविधिको विकास |

काठमाडौँ । राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएन) ले आयोजना गरेको प्रथम एनआरएन अन्तरराष्ट्रिय विज्ञ सम्मेलनको ज्ञानमा आधारित अर्थतन्त्र र विकासका मार्गहरु बारेको सत्रमा उनीहरुले नेपालमा रहेका सम्भावनाको आधारमा विकास अघि बढाउनका लागि पुँजी, सीप र प्रविधिको विकास महत्वपूर्ण भएको बताए । कार्यक्रममा बोल्दै पुर्व प्रधानममन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित बनाउनका लागि पुँजी, सिप र प्रविधि विकासमा जोड दिनुपर्ने बताए । आर्थिक सम्वृद्धिका लागि औद्योगिक क्रान्तिको आवश्यकता रहेको बताउँदै उनले यसका लागि विश्वभर छरिएका गैरआवासीय नेपालीले लगानी ल्याउनका लागि पहल गर्नुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पछिल्लो ३० बर्ष यता नेपालको आर्थिक आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा नाघेको एकपटक मात्र भएको बताउँदै दोहोरो आर्थिक वृद्धिदर हासिल गर्नका लागि पूर्वाधार, उद्योग, कनेक्टिभीटी, शुशासनको क्षेत्रमा संरचनागत रुपान्तरण आवश्यक रहेको बताए । पछिल्लो समयमा सूचना प्रविधिको उपयोग र डिजीटलाईजेशनमार्फत आर्थिक सम्वृद्धिको हासिल गर्न सकिने बताउँदै न्यून लगानी, दक्ष मानव जनशक्तिको अभाव, कमजोर शुशासन जस्ता चुनौतीको सामान गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
एशियाली विकास बैक (एडीबी) का पुर्व उपाध्यक्ष विन्दुनाथ लोहनीले आर्थिक वृद्धिदरको हिसाबले एशियामा नेपाल कमजोर रहेको बताउँदै नीतिको पुनरावलोकन गरी आर्थिक सम्वृद्धिमा अघि बढ्नका लागि सरकारको भुमिका महत्वपूर्ण हुने बताए । नेपालको औद्योगिक विकासले गति लिन नसकेको बताउँदै लगानी भित्र्यानका लागि आर्थिक नीतिको उदारीकरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
एनआरएनका पुर्व अध्यक्ष जीवा लामिछानेले पछिल्लो समयमा गैरआवासीय नेपालीले नेपालमा लगानी बढ्दै गएको बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि उचित वातावरण बन्दै गएको बताउनुभयो । पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले नेपालमा पर्यटन क्षेत्रको व्यवसाय वृद्धि हुँदै गएको बताउँदै ठूला ठूला अन्र्तराष्ट्रिय विमानस्थल निर्माणले पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।