एनआरएनएमा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गरिने |

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गरिने भएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै ६ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो ।
हिजो शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको हो । विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने सल्लाहकार डा. हेमराज शर्माका जानकारी दिए । परिषद्को कार्यकाल भने साविक झै दुई वर्ष नै रहने भएको छ । महाधिवेशनमा प्रतिनिधि संख्या भने पुरानै विधानअनुसार प्रति एक हजार बराबर १०० नै रहने भएका छन् ।
हाल तीन उपाध्यक्ष रहेकामा विषयगत उपाध्यक्ष थप्ने, एनआरएनएको दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने, महाधिवेशन प्रतिनिधि संख्यामा पुनःमूल्याङ्कन गर्नेलगायत प्रस्ताव विधानसभामा प्रस्तुत भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । सात समूहमा भएको छलफलले उपाध्यक्ष थप्ने र विधानसभा नरहने निर्णयबाहेक अरु नयाँ प्रस्ताव पारित गर्न सकेन ।
सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश भएको थियो । शुक्रबारदेखि गैरआवासीय नेपालीको ‘विश्व विज्ञ सम्मेलन’ शुरु भएको छ । असोज २८ गतेसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल भइरहेको छ ।