राष्ट्रिय गौरवको आयोजना सिक्टाको प्रतिवेदन मन्त्रालयमा | मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने, सिक्टाबारे अख्तियारले पनि सूक्ष्म अध्ययन गर्दै
काठमाडौं । बाँके जिल्ला निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवम् मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
करिब ४२ हजार हेक्टर कृषियोग्य जमिनलाई सिञ्चित गर्ने उद्देश्यले निर्माणाधीन उक्त आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले सहसचिव तिवारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
राप्ती नदीमा बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधान गर्ने दायित्व सम्झौताअनुसार ठेकेदार कम्पनीकै हुने देखिएको छ । रू. २५ अर्ब लगानीमा निर्माणाधीन उक्त आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत छ ।
समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञ टोलीसहितको संलग्नतामा सूक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो ।
नहर निर्माण गर्दा माटोको अवस्था नहेरीकन गर्नाले समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत स्थलगत अध्ययन गरेको उक्त आयोजनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सूक्ष्म अध्ययन गरेको छ ।