ग्लोबल आईएमई बैंकको मिसकल बैंकिङ सेवा शुरू |

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाअन्तर्गत ग्राहकहरूले बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरूमा मिसकल दिएर आफ्नो खाताका बारेमा जानकारी लिन सक्नेछन् ।
बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरूले उपभोग गर्न मिल्ने बताइएको छ । यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो खातामा रहेको मौज्दात रकमका बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफूले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमका बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरूका बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नेछन् ।
ग्राहकहरूले माथि उल्लेखित फोन नम्बरहरूमा डायल गरेपछि उक्त नम्बरहरूमा १ घण्टी जाने र आफैं फोन काटिनेछ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत पठाउने बताइएको छ ।