ताम्राकार कम्प्लेक्सको दशैं मेलामा ग्राहकहरूको बढ्दो भीड, भर्खर लन्च भएका नयाँ स्मार्टफोनको धेरै माग |
काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा गतअसोज २३ गतेदेखि सञ्चालित दशैं मोबाइल मेलामा आज पनि ग्राहकहरूको चाप बढेको देखिएको छ । मोबाइल व्यवसायीहरूको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा संचालित उक्त मेलामा मोबाइल फोनमा पाएको छुट र विभिन्न कम्पनीको उपहार योजनाले गर्दा ग्राहकहरूको भीड देखिएको हो ।
नेपालीहरूको महान् चाड बडादशैंको अवसर पारेर आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले बजारमा नयाँ आएका स्मार्टफोनहरू खोज्ने गरेको सोही स्थानमा व्यवसाय गर्दै आएका मोबाइल व्यवसायी तथा संघका कोषाध्यक्ष अनिल ढकालले बताए । उनका अनुसार हरेक मोबाइलमा न्यूनतम ४ देखि अधिकतम ६० प्रतिशतसम्म छुट पाइने हुँदा ग्राहकहरू मोबाइल किन्न ताम्राकार कम्प्लेक्स नै आउने गरेको मोबाइल व्यवसायी संघका सचिव गुरुदत्त शर्माले बताए ।
उनले भने, ‘हामीले ग्राहकहरूलाई बढीभन्दा बढी छुट र सेवा दिइरहेका छौं, ग्राहकहरू पनि निकै खुशी भएका छन् ।’ उनले कम्प्लेक्समा यसपटक मोबाइल खरिदमा एउटा इनर्जी ड्रिंक सित्तैंमा दिएको हुँदा ग्राहकहरूले नौलो अनुभव गरेको जानकारी दिए ।
ताम्राकार मोबाइल बजारको मुख्य केन्द्र भएको हुँदा यहाँ नेपालमा लन्च भएका सबै किसिमका स्मार्टफोनहरू सबैभन्दा पहिले उपलब्ध हुने हुँदा ग्राहकहरू सोधेरै आउने गरेको कोषाध्यक्ष ढकालले बताए । उनका अनुसार ताम्राकार कम्प्लेक्समा नेपालमा लन्च भएका सबै ब्राण्डका र सबै मोडलका स्मार्टफोनहरू र फिचर फोनहरू न्यूनतम रू १,०००– देखि रू. १,५०,०००– सम्मका उपलब्ध छन् । त्यस्तै ग्राहकहरूको लागि विभिन्न कम्पनीहरूको सर्भिस सेण्टर संचालनमा छन् ।
कम्प्लेक्समा ग्राहकहरूका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधासमेत उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रू.१ मा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।
दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरूले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रक्रियाहरू ग्राहकहरूले पूरा गर्नुपर्ने हुन्छ । यसका साथै हरेक कम्पनीहरूले आफ्नो प्रबद्र्धनमा राखेको स्किमहरू पनि ग्राहकहरूले साथमा नै प्राप्त गर्न सक्नेछन् ।
ताम्राकार कम्प्लेक्सको सहयोग अस्पताल निर्माणमा
यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवासमेत गर्ने घोषणा गरेको छ । दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट रू. २०÷– संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भइरहेको कालिकोट जिल्लाको अस्पताललाई उपलब्ध गराउनेछ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि हस्तान्तरण गरिनेछ ।
कम्प्लेक्समा भएका सबै ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरू उपलब्ध छन् । मेला यही असोज ३१ गते समापन हुनेछ ।