बोर्डले नेपालमै पहिलो पटक सार्वजनिक गर्यो वाटर एटीएम | अब २ रुपैयाँ एटीएममा खसाल्नुस् पानी पिउनुस्, काठमाडौंमा २० वटा एटीएम राखिँदै
काठमाडौं । काठमाडौंमा अब हिँड्दाहिँड्दै पानीको प्यास लाग्यो भने २ रुपैयाँ पानी एटीएममा खसालेर पानी पिउन पाइने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आज नेपालमै पहिलोपटक ‘वाटर एटीएम’को नमूना सार्वजनिक गरेको छ । त्यस्तो एटीएम अब काठमाडौंका विभिन्न स्थानमा राखिने भएको छ । ललितपुरको सैंबु, भैंसेपाटीस्थित बोर्डको परिसरमा उक्त एटीएमको नमूना प्रदर्शन गरिएको हो । सो वाटर एटीएमको खानेपानी मन्त्री बिना मगरले आज पानी झारेर पिएर उद्घाटन गरेकी हुन् ।
सो अवसरमा बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको जानकारी दिए । उनले निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप वाटर एटीएमको शुरुवात गरिएको बताए । वाटर एटीएमलाई नेपालीमा ‘पँधेरो’ नामाकरण गरिएको छ ।
उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटरको २ रुपैयाँ १ लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । उक्त एटीएममा दुई रुपैयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने बताइएको छ ।
निर्देशक राणाका अनुसार यस्तो खालको वाटर एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायर राखिने र विस्तारै काठमाडौं उपत्यकाभित्र विस्तार गर्दै लगिनेछ । उनले काठमाडौं उपत्यकामा मान्छेको चाप बढी भएका ठाउँहरूमा पहिलो चरणमा राखिने जानकारी दिए । यो वर्षभित्र २० वटा वाटर एटीएम राखिने बोर्डको भनाइ छ ।