९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएका छौː आईजीपी खनाल |

काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष ९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सफल भएको बताएका छन् ।यो तथ्यांकले प्रहरीको सक्रियतालाई प्रतिविम्बित गर्ने उनको भनाई थियो ।
एकाध घटनालाई लिएर सिंगो प्रहरी संगठनको मानमर्दन नगर्न पनि खनालले आग्रह गरेका छन् । प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनु पर्ने उनले बताए ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर प्रहरीको आलोचना भइरहेकोतर्फ संकेत गर्दै खनालले प्रहरी संगठनमै पनि शुद्धीकरणको अभियानलाई सशक्त बनाएको बताए । ‘प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ,’ खनालले भने, ‘दुई जना प्रहरीको दोष र केही घटनामा आशातित सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको असफलताका रुपमा ब्याख्या गरिँदा हजारौं इमान्दार र कर्तव्यनिष्ट प्रहरीको मानमर्दन हुन पुग्छ ।’
बाल यौनदुराचारमा संलग्न प्रभावशाली विदेशी नागरिकलाई पक्राउ गर्नु, नक्कली नेपाली नोटका कारोबारी, लागू औषध तस्करीमा संलग्न अन्तरराष्ट्रिय गिरोह, सिरियल किलर पक्राउ लगायतका घटनामा प्रहरीले सफलता हात पारेको उनले बताए । ‘भूमिगत संगठनको आवरणमा हुने अपराध र राजनीतिक दलको आवरणमा हुने चन्दा आतंक रोक्न प्रहरी सफल भएको उनले बताए ।