बुद्ध एयरको ७० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने घोषणा |

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तरराष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी ३० प्रतिशत मात्रै लगानी गर्ने र बाँकी ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ । यसले पब्लिक कम्पनी बनाएर अन्तरराष्ट्रिय उडान गर्ने घोषणा गरेको हो ।
कम्पनी २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले छुट्टै कम्पनी खोलेर अन्तरराष्ट्रिय उडानमा जाने घोषणा गरेका हुन ।
‘अन्तरराष्ट्रिय उडानका लागि हामीले छुट्टै कम्पनी खोल्ने र त्यसको ७० प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेका छौं,’ बस्नेतले भने ‘३० प्रतिशत सेयर भने बुद्ध एयरका नाममा हुनेछ ।’ उनले नाफामा रहेको बुद्धको आन्तरिक उडानमा भने सेयर जारी गर्ने कुनै कार्यक्रम नभएको जानकारी दिए ।
उनका अनुसार बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरेकोे छ । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल तयार हुनासाथ बुद्धले चीन र भारतमा उडान गर्ने बस्नेतले जानकारी दिए । उनका अनुसार ‘बोइङ ७३७ म्याक्स’ सिरिजका जहाजबाट अन्तरराष्ट्रिय उडान गर्नेछ ।
कार्यक्रममा फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरको पूर्वी देश हेर्ने विक्री तथा सेवा प्रमुख बिल्ली ओले नेपालको प्रमुख आन्तरिक वायुसेवा बुद्ध एयरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।