रुदी ‘ए’ जलविद्युत्को निर्माण कार्य सम्पन्न, १५ दिनसम्मको विद्युत् सित्तैंमा |
काठमाडौं । पछिल्लो समय निजीक्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य सकिने चरणमा रहेका छन् । यस क्रममा लमजुङ र कास्कीको सिमानामा पर्ने ८ दशमलव ८ मेगावाट क्षमताको रुदी ‘ए’ जलविद्युत् आयोजनाको पनि निर्माण कार्य सम्पन्न भई उत्पादन परीक्षणको क्रममा रहेको छ । यस आयोजनाले असोज २० गतेदेखि नै नहरमा पानी राखेर उत्पादन परीक्षण थालिसकेको छ ।
यो आयोजनाको व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गतवर्षको असारमा नै तोकिए पनि निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सरेको हो । आयोजनाले परीक्षण अवधि १५ को विद्युत् निःशुल्क रुपा विद्युत् प्राधिकरणलाई दिएको छ ।
२०६९ माघ २८ गते विद्युत् खरिद विक्री सम्झौता (पीपीए) भएको यस आयोजनाको २ वर्ष ५ महीनाको अवधिमा निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरणसँग यस आयोजनाले हिउँदको समय रू आठ रुपैयाँ ४० पैसा र वर्षायाममा रू. ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता गरेको छ ।
रू. एक अर्ब ५० करोड लागतमा निर्माण भएको यस आयोजनाको विद्युत्गृहमा ४ दशमलव ४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको आयोजनाले बताएको छ । आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोसिबा प्लाण्ट सिस्टम एण्ड सर्भिस कर्पाेरेशनले काम गरेको छ ।
प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको यस आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ ।
यस क्रममा केही दिनपहिले मात्रै लमजुङको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजना र दोलखाको २५ मेगावाट क्षमताको सिँगटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भइसकेको छ । यी आयोजना पनि उत्पादनको तयारीमा रहेका छन् ।