अहिल्यै पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन : कृषिमन्त्री खनाल | २२ वटा पानी उद्योगमा शिलबन्दी, अखाद्य वस्तु मिसावट गर्नेलाई जेल हालिने
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अहिले नै आफू पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा नरहेको बताएका छन् । अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी उद्योग भेटिएको र ती उद्योगमा शिलबन्दी गरिसकिएको जानकारी गराएका छन् ।
फोकस नेपाल नामक संस्थाले काठमाडौंमा मंगलवार आयोजना गरेको ‘समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य’ विषयक विचार गोष्ठीमा मन्त्री खनालले त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर, केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’
उनले खाद्य पदार्थमा मिसावट गर्ने कसैलाई नछाड्ने बताउँदै त्यसै कारण सरकारले एक वर्षभरि दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरेको बताए । मुख्य गरी काठमाडौंमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको पाइएको तथा अब ढुक्कले दूध खान मिल्ने अवस्थामा पुर्याइएको उनको दाबी छ ।
मन्त्री खनालले कृषिमा अहिले दयनीय अवस्था रेहेको बताए । उनका अनुसार २ करोड ८० लाखको दुई तिहाई अर्थात् झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरूको प्राथमिकताजस्ता कारणले कृषि क्षेत्रको अवस्था दयनीय भएको छ ।