बगैंचाका लागि गमला छनोट कसरी गर्ने ? |
घरमा बगैंचा बनाउने स्थान अभाव भएको अवस्थामा गमलामा फूल तथा बिरुवा लगाएर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । साना तथा ठूला गमलाले धेरै ठाउँ नओगटेर पनि घरलाई बगैंचाको जस्तो स्वरूप दिन्छ । तर, गमलाको छनोटमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । यदि तपाईं घरमा गमला राख्ने सोचाइमा हुनुहुन्छ केही तलका उपाय सहयोगी हुन सक्छन् ː
१. आकारमा ध्यान दिनुहोस्
गमला जति ठूलो छ, त्यति नै सजिलोसँग बिरुवा लगाउन सकिन्छ । ठूलो गमलामा धेरै पानी तथा माटो राख्न सकिन्छ, जुन बिरुवाका लागि एकदमै महवपूर्ण हुन्छ । सधैं ठूलो गमला नै खरीद गर्नुपर्छ भन्ने छैन । तर, बिरुवाको नश्लअनुसार गमला छनोट गर्नु राम्रो हुन्छ ।
२. पानी निस्कने प्वाल
गमलाको बिच भागमा एउटा प्वाल बनाइएको हुन्छ । उक्त प्वालबाट बिरुवाले सोसेर बचेको पानी बाहिर निस्कन्छ । यदि यस्तो प्वाल गमलामा छैन भने बिरुवा पानीमै कुहिन सक्छ ।
३. आकर्षक डिजाइन
गमला छनोट गर्दा माटोबाट निर्मित नै हुनुपर्छ भन्ने छैन । आवश्यकताअनुसार घरमा सानो टब वा मगलाई पेण्ट्स गरेर पनि प्रयोग गर्न सकिन्छ । तर, त्यस्तो प्रयोग भएको भाँडोको बीचमा एउटा प्वाल बनाउनुपर्ने हुन्छ ।
४. कच्चापदार्थ
गमला बनाइएको कच्चापदार्थको गुणस्तर राम्रो हुनुपर्छ । कमसल खालको प्लाष्टिकबाट बनाइएको गमला छिट्टै खराब हुन्छ । फलामबाट बनाइएको गमला पनि छिट्टै तात्ने भएकाले बिरुवाको जरालाई असर पुग्छ । त्यसैले, सिमेण्ट, ढुङ्गा, माटो, राम्रो प्लाष्टिकबाट बनाइएका गमला छनोट गर्न सकिन्छ ।
५. तौल
गमला कहिले पनि धेरै गह्रौं खरीद गर्नुहुँदैन । गमलालाई आवश्यकताअनुसार एक ठाउँबाट अर्को ठाउँमा सारिरहनुपर्ने हुन सक्छ । बढी तौल हुँदा यस्तो समयमा मुश्किल पर्छ । बिरुवालाई घाम देखाउन बाहिर राख्नुप¥यो भने त्यसलाई सजिलै उठाउन सकिने खालको गमला हुनुपर्छ ।
६. बिरुवालाई सुहाउने
कुनै बिरुवाका जरा चारैतिर फैलिएर जाने हुन्छन् भने कुनैको जरा सीधै तलतिर जाने हुन्छन् । त्यसकारण, बिरुवाको जात र प्रकृतिअनुसारको गमला छनोट गर्नुपर्छ ।