मूल्यवृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न अर्थ समितिको निर्देशन | चाडपर्वको २ महिनाअघि नै आधारभूत मूल्य तोक्नू : अर्थ समिति

काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न र चाडपर्वअगावै उपभोग्य वस्तुको आधारभूत मूल्य तोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति कृष्ण दाहालका अनुसार बैठकले हालका लागि सुपथ मूल्यका पसलको व्यवस्था गरी वस्तु तथा सेवा दिन र अर्को वर्षदेखि चाडपर्व शुरू हुनुभन्दा दुई महिनाअघि नै उपभोग्य वस्तुको आधारभूत मूल्य तोक्ने कानूनी व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा समिति सदस्यहरूले महँगी नियन्त्रण र राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । समितिको क्षेत्राधिकार समेत प्रष्ट नभएकाले काम गर्न अप्ठ्यारो परेको समितिकी सदस्य रामकुमारी झाँक्रीले बताइन् । समितिको काम प्रभावकारी बनाउन पनि क्षेत्राधिकारी प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।