एफवान सफ्ट इण्टरनेशनल र सक्षमबीच साझेदारी | अब उद्यमीलाई कर्जा लिन सजिलो भो
काठमाडौं । एफवान सफ्ट इण्टरनेशनल प्रा.लि.ले साना, मझौला र मध्यम उद्यमीलाई प्रविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लेटफर्म’ शुरू गरेको छ । कम्पनीले यूकेएडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँग सम्झौता गरी उक्त प्लेटफर्म तयार पारेको हो ।
उक्त साझेदारी पत्रमा सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र एफवान सफ्ट इन्टरनेशनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।
उक्त साझेदारीसँगै अब एफवान सफ्ट इण्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्लेटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरून्तै कर्जा पाउनेछन् ।
यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरूले सामान तथा सेवा बिवक्री गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको बिलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन् । यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले बिनाधितो सहज ढंगले ऋणको सुविधा पाउनेछन् ।