योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय |

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको भए पनि सार्वजनिक भने गरेको छैन ।
मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार पारेको जानकारी दिएको छ ।
कार्यविधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण तथा योगदानमा आधारित पेन्सन सहुलियतसम्बन्धी व्यवस्था रहेको बताइएको छ । साथै पेन्सन कार्यक्रमभित्र मुख्यतः किसानलाई सहुलियतरुपमा मल, बीउबिजन, नगद अनुदान, बीमाजस्ता क्षेत्रलाई सम्बोधन हुने छ ।
विसं २०७३ माघ ६ गते आयोगको गठन भएको थियो । आयोगका गतिविधिबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानलाई परिचयपत्र वितरणपछि के कस्ता सुविधा प्राप्त गर्न सक्नेछन भन्ने विषयलाई कार्यविधिले सम्बोधन गरेको जानकारी दिए ।
कार्यविधि स्वीकृतिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयमा बुझाइएको बताइएको छ । आयोगको विशेष पहलमा मन्त्रालयले हालै धान र उखुको न्यूनतम समर्थन मूल्य तय गरेको थियो । यसैगरी मकै र गहुँको समर्थन मूल्य निर्धारण हुने क्रममा रहेको छ ।
आयोगले कृषि ऋणको वर्तमान अवस्थाबारे अध्ययन, कृषि उत्पादन निर्यात प्रवद्र्धन समस्या र थप सम्भाव्यता अध्ययन, बाँझो जग्गा व्यवस्थापन अध्ययन, कृषि व्यवसायीकरण तथा करार खेतीका लागि करार ऐन अध्ययन भएको आयोगले जानकारी दिएको छ ।